काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको बताएका छन् । आज (सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले भने, ‘‘तपाईँहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’’
त्यस्तै, गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रूपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रूपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गरे ।
यसैगरी, तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्न समेत निर्देशन दिए ।
गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन–कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन पनि निर्देशन दिए ।
उनले सीमित स्रोत साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहत लगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन आवश्यक रहेको बताए ।
साथै मिटरब्याजबाट पीडितहरूको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।