काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिने बताएका छन् ।
महानिरीक्षकमा बढुवा भएपछि आइतबार दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि महानिरीक्षक कुँवरले प्रहरी नागरिकका हरेक दुःख र पीडाको प्रत्यक्ष साक्षी र सहयोगी रहेको बताए ।
उनले आफ्नो कार्यकालमा प्रहरीले नागरिकमा राज्यप्रतिको भरोसा र प्रगाढता बढाउने गरी काम गर्ने र कार्ययोजना बनाउने बताए ।
महानिरीक्षक कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले गत शुक्रबार कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको थियो ।