नयाँ दिल्ली । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् ।
नयाँ दिल्लीमा आज बुधवार भएको भारतीय सञ्चार राज्यमन्त्री देबुसिन्ह चौहानसितको द्विपक्षीय भेटमा उनले सो आग्रह गरेकी हुन् ।
‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्नेगरेको गुनासो छ’ मन्त्री शर्माले भनिन्, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्छ ।’
नेपाल र भारत नजिकका छिमेकी राष्ट्र भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘यसमा दुवै देशका सेवा प्रदायक र नियामक निकाय सजग हुनुपर्ने देख्छु ।’
त्यस्तै, सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ पनि भारतीय पदाधिकारीको ध्यानाकर्षण गराए ।
विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुनुपर्ने उनको भनाइ छ । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनीमुलुक नेपाल चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई उत्प्रेरित गरिदिन पनि उनले आग्रह गरिन् ।