काठमाडौँ । नेपाललाई आईसीसी विश्वकप छनोटमा सिधै र्पुयाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू अहिले पुरस्कार र सम्मान थाप्न भ्याइनभ्याइ छ । राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय टिमलाई नगदसहित सम्मान गरिसकेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा बिहीबार यूएईलाई डिएल मेथोडमा ९ रनले पराजित गरेसँगै नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गरेको थियो ।
अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रदेश सरकार र संघसंस्थाहरूले सम्मान गरिरहेका छन् । केन्द्रीय सरकारले सबै खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । यस्तै बागमती प्रदेश सरकारले राष्ट्रिय टिमका प्रत्येक सदस्यलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही २–२ लाख, सन्दीप जोरालाई १ लाख, कमलसिंह ऐरी र अर्जुन साउँदलाई जनही ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
यस्तै दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाले पनि सहयोग गर्ने घोषणा गरेको छ । भिमदत्तले ऐरी सार्कीलाई जनही रु एक लाख ५१ हजार दिने घोषणा गरेको छ । उता मधेस प्रदेश सरकारले आरिफ शेख र गुल्सन झालाई जनही २–२ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले ओपनर आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई प्रोत्साहन स्वरुप १–१ थान मोटरसाइकल प्रदान गर्ने घोषणा गरिसकेको द्ध भने एनएमबी बैंकले टिमका प्रत्येक सदस्यलाई हौसला बढाउन भन्दै २१ हजार रुपैयाँका दरले प्रोत्साहन रकम घोषणा गरेको छ ।