काठमाडौँ । आईसीसी विश्वकप लीग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले ९ विकेटले पपुवा न्यूगिनीलाई (पीएनजी) हराएको छ। पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले एक विकेट गुमाएर ७.४ ओभरमै प्राप्त गर्यो।
यो जितसँगै लीग-२ का कुल ३६ खेलमध्ये ३५ वटापछि नेपाल तालिकामा ३८ अङ्कसहित चौथो स्थानमा कायम छ।आइतवार भएको खेलमा यूएईलाई पराजित गरेपछि नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाइसकेको छ भने बाँकी खेलमा यूएईलाई पुनः हराउन सके नामिबियालाई उछिन्दै नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिनेछ।
लीग २ का शीर्ष तीन टोलीहरूले जिम्बाब्वेमा आगामि जुन र जुलाई महिनामा हुने विश्वकप क्वालिफाइअरमा स्वतः प्रवेश पाउनेछन्। यही वर्ष भारतमा हुने विश्वकपमा प्रवेश पाउन नेपाली टोलिको जिम्बाब्वेमा अर्को परीक्षा हुनेछ।