काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा घरेलु टिम नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
टीयू क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल ९ः३० बजे सुरू हुनेछ । यो सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । यता, पपुवा न्युगिनीले भने यूएईलाई ५६ रनले हराएको थियो ।
नेपालले लिग टुको बाँकी सबै खेल जित्दै शीर्ष तीनमा स्थान बनाउने लक्ष्य राखेको छ । नेपालले भोलिको खेलमा यूएईलाई पराजित गरे एकदिवशीय अन्तर्राष्ट्रिय मान्यतालाई कायमै राख्नेछ । नेपालकाे ३३ खेलबाट ३४ अंक छ । यूएईलाई पराजित गरे नेपाल ३६ अंक बनाउँदै नेपाल चौथो स्थानमा उक्लिने छ । अहिले चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । लिगको छैटौँ स्थानमा रहेको यूएईको ३३ खेलबाट ३१ अंक छ । लिग टुको पुछारमा रहेको पपुवा न्युगिनीकाे ३४ खेलबाट ११ अंक छ ।
यसअघि नै च्याम्पियन बनिसकेको स्कटल्यान्डको ३६ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक हुँदा तेस्रो स्थानमा रहेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । अब नेपालले बाँकी तीनै खेल जिते नामिबियालाई उछन्दै तेस्रो बन्ने छ । यस्तो भए नेपाल सिधै विश्वकप छनोटमा प्रवेश गर्नेछ ।