काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बलरा नगरपालिका ६ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोषकुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दैआएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधेराधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्न विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए । अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमतिपत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको उनले बताए ।