काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलाअन्तर्गत नेपालले आज पपुवा न्यूगिनी (पिएनजी)विरुद्ध खेल्दैछ । नेपाल र पिएनजीबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
लिग–२ को शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोट सम्भावना जीवित राख्न नेपालले चारवटै खेल जित्नुको विकल्प छैन । हालै यूएई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले घरेलु श्रृंखलामा पनि सोही लय कायम राख्न चाहन्छ ।
नेपाल अहिले ३२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ३२ म्याच खेलेको नेपालले १५ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले ३६ म्याचबाट ३९ अंक जोडेको छ । सिधै विश्वकप छनोटमा स्थान बनाउन नामिबिया नेपालको एक हारको प्रतीक्षामा छ ।
पुछारमा रहेको पिएनजीले ९ अंक मात्र जोड्न सकेको छ । उसले ३२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ । छैटौँ स्थानमा रहेको यूएईले ३२ म्याच खेल्दा १४ मा जित, १५ मा हार तथा तीन खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड र ओमानले भने शीर्ष दुईभित्र स्थान बनाउँदै सिधै विश्वकप छनोटको यात्रा तय गरिसकेका छन् ।