काठमाडौँ । भोली (बिहीबार) हुने राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्थाको योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जानकारी गराएको हो ।
संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति निर्वाचनस्थलमा कुराकानी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी)दानबहादुर कार्कीले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार मतदानमा बाधा अवरोध नहोस् भन्नका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । एसएसपी कार्कीले फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने बताए ।
एसएसपी कार्कीले मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने पनि बताए । मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने भन्दै उनले मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको बताए ।
राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान तय गरिएको छ। राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।