काठमाडौँ । नेपाल वायुसेवा निगमले महिला दिवसको अवसरमा पहिलोपटक महिला चालक दलका सदस्यहरू राखेर अन्तर्राष्ट्रिय उडान गरेको छ । वायुसेवा निगमको इतिहासमै पहिलोपटक महिला दिवसको दिन चालक दलका सदस्यहरू (ककपिट र क्याबिन क्रु) मा सबै महिला राखेर उडान भएको छ ।
८ मार्च २०२३ (अन्तर्राष्ट्रिय महिला दिवस) को अवसर पारेर निगमको आरए २३० उडान नम्बरबाट दुबई–काठमाडौं उडान भएको छ । उडानमा क्याप्टेन, को–पाइलट, एयर होस्टेज सबै महिला रहेको टोलीले काठमाडौंमा सुरक्षित अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चालक दलका सदस्यहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गरे ।
उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट सिर्जना रावत, आईएफएस बास्ना राना, फ्लाइट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता केसी र अनिशा प्रजापति रहेका थिए ।
हाल निगममा कूल ९ जना महिला पाइलट रहेकामा १ जना ए ३३० मा, ४ जना ए ३२० मा र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत छन् । निगममा कार्यरत १४५ क्याबिन क्रूमध्ये ९६ जना महिला क्याबिन क्रू छन् ।
यसअघि नेपाल वायुसेवा निगमको विमानबाट फागुन २१ गते पनि पहिलोपटक महिला टोलीले उडान गरेको थियो । उक्त दिन पाइलट भावना गिरी पन्त र को–पाइलट सिर्जना रावत, २ महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं–दुबई सुरक्षित उडान गरेर निगमकै इतिहासमा २ महिला पाइलटहरूले अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।