काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २५ देखि चैत दुई गतेसम्म हुने शृंखलाको लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।
लिग–२ को अन्तिम शुंखलामा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) र पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । सार्वजनिक तालिकाअनुसार नेपालले फागुन २५ र २९ गए पीएनजीसँग खेल्नेछ । यस्तै, फागुन २८ र चैत दुई गते यूएईसँग खेल्नेछ ।
लिग–२ मा ३२ खेलमा ३२ अंक जोडेको नेपाल पाँचौ स्थानमा छ । लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई अब सबै खेल जित्नैपर्ने दबाब छ ।तालिकाको छैटौं स्थानमा रहेको यूएईले ३२ खेलमा ३१ अंक जोडेको छ । सातौं स्थानको पपुवा न्युगिनीले भने ३२ खेलबाट ९ अंक जोडेको छ ।
