काठमाडौँ । शहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टोली एपीएफ क्लब र नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक-एक गोल गरेका थिए ।
जितसँगै एपीएफले पहिलो खेलमा तीन अंक जोडेको छ । त्यस्तै, शनिबार नै सम्पन्न अर्को खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले पनि विजयी सुरुआत गरेको छ । च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरेका थिए भने पुलिस क्लबका लागि रवि पासवानले एक गोल गरेका थिए ।
यस अघि शुक्रबारदेखि शुरु भएको ए डिभिजन लिगको उद्घाटन खेलमा एफसी खुमालटारले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।