काठमाडौं । अन्तिम मिनेटमा मेसुके ओलौमोउले गरेको गोलमा खुमलटार युवा क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभजिन लिगमा फ्रेन्ड्स क्लबलाई १–० ले हराएको छ । यससँगै खुमलटारले लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।
खुमलटार गत सिजनमा मात्र ‘ए’ डिभजिन लिगमा बढुवा भएको हो । खुमलटार ‘बी’ डिभिजन लिगमा उपविजेता बन्दै शीर्ष डिभिजन लिगमा उक्लिएको थियो ।
खुमलटारको जितमा मेसुकेले खेल सकिन एक मिनेट बाँकी हुँदा गरेको गोल निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मेसुकेले ८९औँ मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ कर्नरबाट हानेको प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापाको हातमा लागेर पोस्टमा छिरेको थियो । उनले जय गुरुङको लामो पास नियन्त्रणमा लिएर हानेको प्रहार गोलमा परिणत भएको हो ।
खुमलटारले १३औँ मिनेटमा गोलको राम्रो अवसर खेर फालेको थियो । स्टेफन बिनोङको प्रहार थोरैले बाहिरिएको थियो । त्यसको चार मिनेटपछि खुमलटारले अर्को मौका गुमायो । मेसुकेले हानेको प्रहार पनि थोरै बाहिरिँदा खुमलटारले अग्रता लिने मौका गुमाएको थियो ।
फ्रेन्ड्सका उत्तम राईले पनि १८औँ गोलको राम्रो अवसर खेर फाले । उत्तमले गत सिजन संकटाबाट खेलेका थिए । दोस्रो हाफको सुरुमै आक्रामक बनेको फ्रेन्ड्सका लक्ष्मण रुचालले हानेको प्रहार खुमलटारका गोलकिपर देव लिम्बुले बचाइदिएका थिए ।
५४औँ मिनेटमा मेसुकेले गोलको राम्रो अवसर खेर फाले । उनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार सिधै फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापाको हातमा पुगेको थियो । ७३औँ मिनेटमा स्टेफन विनोङले २० यार्ड बाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएपछि खुमलटारले अग्रता लिने अर्को राम्रो अवसर खेर फालेको थियो ।
७५औँ मिनेटमा ११ क्रममा मेसुकेको हेड पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ फ्रेन्ड्सका गोलकिपर राजाबाबुले मुस्किलले बचाएका थिए । ८४औँ मिनेटमा मेसुकेले गोलको अर्को राम्रो अवसर खेर फाले । उनले विपक्षी गोलकिपरलाई कटाएर अगाडि बढाए पनि गोल गर्न सकेनन् । उनको प्रहारलाई असिम भुसालले बचाएका थिए ।
इन्जुरी समयमा खुमलटारका राजीव लोप्चन पनि गोलको राम्रो खेर फाले । अनमार्क रहेको राजीवले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार विपक्षी गोलकिपर राजाबाबुले बचाइदिएका थिए ।