काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टिम यूएई पपुवा न्युगिनीसँग फराकिलो अन्तरले पराजित भएको छ । योसँगै नेपाललाई प्रत्यक्ष रूपमा फाइदा पुगेको छ ।
मंगलबार भएको खेलमा यूएई पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको हो । २६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३४.२ ओभरमा सबै विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो । यूएईका लागि मोहम्मद वासिमले २४, भृत्या अरभिन्दले २३, जोहोर खानले २३ र असिफ खानले २० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले पाँच विकेट लिए । उनले १० ओभरमा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर पाँच विकेट लिएका हुन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा २६२ रन बनाएको थियो । पपुवा न्युगिनीका लागि सेसे बाउले ७४, टोनी उराले ५१, किप्लिन डोरिगाले ४२, गाउडी टोकाले २८ रन बनाए । बलिङतर्फ कार्थिक मैयाप्पनले चार र आर्यन लक्राले तीन विकेट लिए ।
यूएईको यो हारसँगै नेपाललाई भने फाइदा पुगेको छ । लिग टुको पाँचौँ स्थानमा रहेको यूएईको २९ खेलबाट २९ अंक छ । छैटौँ स्थानमा रहेको नेपालको २९ खेलबाट २८ अंक छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न लिग टुको शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । यता, पुछारमा रहेको पपुवा न्युगिनीको भने ३० खेलबाट सात अंक छ ।
लिग टुको च्याम्पियन बनिसकेको स्कटल्यान्डको ३६ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक हुँदा तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ ।