काठमाडौं। यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ।
तेस्रो जित निकाल्ने क्रममा नेपालले मंगलबार हङकङलाई ९ विकेटले हरायो। नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले हराएको थियो।
तेस्रो खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा एक विकेट गुमाएर भेट्टायो। नेपालका लागि आकाश त्रिपाठीले अविजित ६४, उत्तम थापा मगरले अविजित ३९ र ओपनर अर्जुन कुमालले ६ रन बनाए। जारी प्रतियोगितामा आकाशको यो दोस्रो अर्धशतक हो।
हङकङका लागि डेनियल मोर्गन म्यापले मात्र एक विकेट लिए। त्यसअघि अजमानस्थित मलेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन बनायो।
उसका लागि पार्थ भागवतले ३६, मोहम्मद अलियान जाहिरले २९ र कप्तान आहान त्रिवेदीले ११ रन बनाए। हङकङ ७ ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले उत्कृष्ट बलिङ गरे। हेमन्तले ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चिएर ३ तथा सुवासले १० ओभरमा ३ मेडनसहित १० रन दिएर २ विकेट लिए। त्यस्तै, आकाश चन्दले ८.३ ओभरमा ४३ रन दिएर २ विकेट नै हात पारे। दीपेश कडेँलको नाममा एक विकेट रह्यो।
नेपालले अब चौथो खेलमा मंगलबार मलेसियाविरुद्ध खेल्ने तालिका छ। प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गरिरहेका छन्।
तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू–१९ विश्वकप खेल्न पाउनेछ।