ढल्केवर। धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ।
इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएका हुन्। फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरका हुन्।
जनकपुरधामस्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा सहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।
फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रवक्ता गौतमले बताए।
धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएको हो।