काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा आइतबार भएको सुनुवाइमा बहस नसिकएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।
आज पीडितको पक्षबाट दुई जना सरकारी वकिल तथा कानुन व्यवसायीहरुले बहस गरिसकेका छन्। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापासहित केही कानून व्यवसायीले बहस गरेका छन्।
अब लामिछानेको निवेदनमा भालि सुनुवाइ हुनेछ।
लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।
अदालतले महान्यायाधिवक्ता कार्यालय र बलात्कार आरोप लागेका लामिछानेको निवेदन आज एकैसाथ अग्राधिकारमा राखेर सुनुवाइ गरेको थियो।
नेपाली क्रिकेट टोली युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका लागि शनिबार युएई गइसकेको छ। तर, सन्दीप जान पाएनन्।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने उच्च अदालत पाटनले शर्त राखेको छ।
मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।