काठमाडौं। सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो। समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ।
यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ। एसियाली फुटबल महासङ्घले प्रारम्भिक चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरेको हो र समूहको शीर्ष टोली दोस्रो चरणका लागि छनोट हुनेछ।
ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टोलीले हालै भारतमा दुई वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। चेन्नईमा भएको दुवै खेल बराबरीमा सकिएको थियो।