काठमाडौं। सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालय र बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर फागुन १४ गतेलाई पेशी तोक्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गर्दा लामिछाने परेका छैनन्। युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि शनिबार युएई जाँदैछ।
लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित बिहीबार रिट दायर गरेका थिए। अदालतको आजको आदेशसँगै सन्दीप भोलि युएई जान नपाउने निश्चित भएको छ।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने अदालतले शर्त राखेको छ।
उक्त निवेदनमा सुनुवाइ हुँदै सर्वोच्चले आदेश गरेका उनी खेल्न जान पाउनेछन्। यदि सर्वोच्चले आदेश जारी नगरेमा भने उनी मुद्दाको फैसला भएर निर्णय नभएसम्म जान पाउने छैनन्।
मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।