काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल बिहान १०ः४५ देखि सुरु हुनेछ । नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । सिंगापुर पनि प्रतियोगितामा नेपाललाई स्तब्ध पार्दै सुखद नतिजाको आशामा छ ।
प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्ने छन् । नेपालका लागि १० एकदिवसीय खेलिसकेका देवले विश्वकप छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन चाहन्छन् ।
हालसम्म नेपालले सात यू–१९ विश्वकप खेलेको छ । सन् २०१६ यता भने नेपालले विश्वकपमा स्थान बनाउन सकेको छैन । यसपटक भने टोली विश्वकपको टिकट काट्ने लक्ष्यका साथ यूएई प्रस्थान गरिसकेको छ । टिम कप्तान देवले पनि नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन पूरा कोसिस गर्ने बताएका छन् ।
उनले अभ्यास राम्रो भएको भन्दै प्रतियोगितामा पनि राम्रो नतिजा लिएर स्वदेश फर्किने बताए ।प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, हङकङ, कुवेत र यूएईको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले श्रीलंकामा सन् २०२४ मा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।नेपालले प्रतियोगितामा दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्नेछ ।