काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।
खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।’
प्रचण्डले खेलाडीका कारण देशकै गौरव र प्रतिष्ठा बढेको बताए। उनले अगाडि भने, ‘म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।’

अहिले खेल देशका लागि, अर्थतन्त्रको उत्थानका लागि, राष्ट्रिय प्रतिष्ठाका लागि, कुटनीतिक उचाइका लागि पनि भएकोले खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुने प्रचण्डले बताए।
छोटो समयमै नेपाली क्रिकेटले हासिल गरेको सफलताले आफुलाई राजनीतिमा प्रेरणा दिएको उनले बताए।
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।
मंगलबार सकिएको विश्वकप लिग टू अन्र्तगत स्कटल्याण्ड र नामिबियासँगको सिरिज नेपालले क्लिनस्वीप गरेको थियो।
सम्बन्धित समाचारः नेपालले स्कटल्याण्डलाई हरायो, बनायो नयाँ कीर्तिमान