काठमाडौं। नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलम, वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता, काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका रवि माझीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
सम्बन्धित समाचारः
नेपाल टी–२० लिगमा कसरी गरियो फिक्सिङ ? को–को छन् संलग्न ? सीआईबीले दियो जानकारी
उनीहरुविरुद्ध तीन वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ।
महबुब, आदिल र नितेश पक्राउ परिसकेका छन् भने कँडेल र माझीलाई फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता गरिएको हो। फरार रहेकाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ पूर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ।
अनुसन्धानका क्रममा १२ जनाको संलग्नता पुष्टि भएको थियो। बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
सम्बन्धित समाचारः
नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भइरहेको खुलासा
नेपाल टी–२० लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो। आदीलले जनकपुर रोयल्सबाट नेपाल टी–ट्वान्टी खेलेका थिए भने महबुब कुनैपनि टोलीमा थिएनन्।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो।
मोहमद आदिल आलमले दिएको बयानः
हाल सम्पन्न भएको नेपाल टी-ट्वान्टी लिग शुरु भएको केही दिन पछी सामान्य चिनजान भएका भारतका समिर शेख भन्ने व्यक्तिले हाल सम्पन्न भएको नेपाल टी-ट्वान्टी लिगमा म पनि खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने वाट्सएप नम्बरमा हेलो भनी मेसेज पठाई सो पश्चात वाट्सएप मै कल गरी “मेरो लागि एउटा नो बल बल र वाइड बल फालिदेउ सो वापत १ लाख रकम दिने भनी प्रस्ताव राखेका थिए तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ ।
मैले निजको एप्रोच तत्कालै अस्विकार गरेको र निजले भने अनुसार खेल खेलेको पनि छैन् । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ ।
सन् २६ डिसेम्बर २०२२ (मिति २०७९।०९।११ गते) भएको खेल खेल्ने क्रममा बाँया भागको कम्मरको नशामा समस्या आएपछी मैले तत्काल टिम कोचलाई जानकारी गराएपछी हाम्रो टिमको फिजियोथेरापिष्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछी म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ । सो पश्चातको खेलमा पनि मैले अल राउण्डरकोरुपमा खेल खेली बलिङ गरेको थिएँ । हाम्रो टिममा तिव्रगतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ ।
मलाई बाँया भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौष १२ गते (सन् २०२२ डिसेम्बर २७) मा सम्पन्न भएको काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र मिति २०७९ पौष १४ गते (सन् २०२२ डिसेम्बर २९) सम्पन्न भएको जनकपुर रोयल्स र फार वेष्ट यूनाईटेड बीचको खेलको छैठौं ओभरमा दुखाईको कारण एक नो बल र एक वाईड बल भएको हो ।
मैले समिर शेखले भने अनुसार बलिङ गरेको होईन । मलाई निज समिर शेखले निजले भने बमोजिम नो बल र वाईड बल गरिदिएमा १ लाख रुपैयाँ दिने भनि WhatsApp मा कल गरी प्रस्ताव गरेका थिए । सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान भनि गम्भिरता पुर्वक लिएको थिईन । खेलकै दौरान (मलाई कल आएको एक-दुई दिनपछी) विभिन्न सञ्चार माध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन प्रसारण भएको र सर्वसाधारणहरु समेतले यस बारेमा चर्चा परिचर्चा हुन थालेपछी समिर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेका हुन सक्छ भनि नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएकोमा निजको सल्लाह बमोजिम सो को भोलीपल्ट Anti-Corruption Manger बिर सिंहलाई जानकारी गराएको हु ।
मैले निज समिर शेखले भने अनुसार खेल नखेलको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समिर शेखले मजाक-मजाकमा नो बल र वाईड बल फाल्न भनेपछि निजलाई मैले अव यस्तो नगर्नु भनि चेतावनी समेत दिई निजसँग कुरा गर्न छाडेको थिएँ । तर उक्त खेल अवधीमा मलाई कम्मर दुख्ने समस्या आएकोले मैले बलिङ गर्दा सामान्य भन्दा फरक नो बल र वाईड बल भएको हो । सोही कारण निज परेश प्रसाद लोहनीलाई शंका लागि Anti- Corruption Unit Officer (ACUO) विर सिंहलाई जानकारी गराउनु भएको हुनसक्छ।
महबुब आलमले दिएको बयानः
मेरो छिमेकी भाईले रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी - २० क्रिकेट लिग संचालन भई रहेको बेला निजको WhatsApp No बाट मैले प्रयोग गर्ने WhatsApp No मा मलाई सम्पर्क गरी तत्काल जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी म. आरीफ शेख र फार वेष्ट यूनाईटेडका खेलाडी महमद हासिम अंसारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजहरुलाई ने.रु. छ लाख रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनू भनेकाले मैले मेरो मोबाईलबाट तत्काल म.आरीफ शेखलाई निजको मोबाईलमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे म. आरीफ शेखले तत्काल निर्णय दिएनन् ।
मैले म. आरीफ शेखको मोबाईल नं समेत रवि माझीलाई WhatsApp मा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनी मेसेज पठाएको थिएँ । खेलाडीको काम हुना साथ पैसा उपलब्ध हुने कुरा पनि बताएका थिए । सो पश्चात मैले म.आरीफ शेखको मेसेन्जरमा तिमिलाई कसैले फोन गर्यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनी जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखका दरले रु.३६ लाख तिमीलाई हुने कुरा पनि मेसेन्जरमा बताएको थिएँ ।
मलाई पनि प्रति म्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गर्न भनिएको थियो । मैले त्यसैले तिमिसँग सिधा कुरा गराएको भनी म. आरीफ शेखलाई जानकारी गराएको थिएँ । म. आरीफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नु पर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । म. आरीफ शेखलाई कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दाकम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख दिने भनी रवि माझीको प्रस्ताव नै मैले निज म. आरीफ शेखलाई राखी दिएको हुँ । मिति २०७९/०९/१४ गते मैले महमद हासिम अंसारीले निजले प्रयोग गर्ने नं बाट मैले प्रयोग गर्ने नं भएको मोबाईल फोनमा फोन गरेका थिए । उक्त समयमा मैले निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ने.रु. चार लाख रकम दिने रवि माझीको प्रस्ताव मैले राख दिएको थिएँ।
निजले तत्काल कुनै निर्णय दिएनन् । महमद हासिम अंसारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो, सो बारेमा रवि माझीले बताएका थिएनन् । कुनै खेलमा ब्याटिङ गर्दा खेलाडीले ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख रवि माझीले उपलब्ध गराउने प्रस्ताव मैले महमद हासि अंसारीलाई राख्दा ने.रु. चार लाख दिने भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले ने.रु. छ लाख मध्येबाट मलाई ने.रु. दुई लाख दिने प्रस्ताव गरेको कारण मैले महमद हासिम अंसारीलाई ने.रु. चार लाख दिने भनी प्रस्ताव गरेको थिएँ ।
उल्लेखित प्रस्ताव खेलाडीले स्वीकार गरे मात्र मलाई ने.रु. दुई लाख दिने रवि माझीले बताएका थिए।महमद हासिम अंसारीको redmi note 7 मोबाईल फोन परीक्षण पश्चात परीक्षण प्रतिवेदनसाथ पेश हुन आएको DVD मा भएको अडियो रेकर्ड कम्प्यूटरमा प्ले गरी मलाई सुनाउँदा सुनी पाएँ । उक्त अडियो रेकर्डमा भएको संवाद म र महमद हासिम अंसारीबीच फोन सम्पर्क हुँदा भएको संवाद हो । उक्त संवाद महमद हासिम अंसारीले निजको मोबाईल फोनमा रेकर्ड गरेको हुनु पर्छ ।
उक्त संवादमा मैले महमद हासिम अंसारीलाई “हिजो १ जना मान्छेले सम्पर्क गरेको, कोही छ भने सम्पर्क गर्नू, पैसा कमाउन चाहन्छ भने ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ दिन्छ, तिमि आफै गर्छौ भने गर्दा हुन्छ, ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ पाउँछ” भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले मलाई भने बमोजिम मैले उक्त प्रस्ताव महमद हासिम अंसारीलाई राखी दिएको थिएँ। सो प्रस्तावको जवाफ एक छिनमा दिन्छु भनी महमद हासिम अंसारीले भनेका थिए ।
निजहरुले तत्काल उक्त प्रस्वावलाई स्वीकार नगरेको कारण उक्त रकम भुक्तान भएको छैन । म. आरीफ शेख र महमद हासिम अंसारी बाहेक अन्य कोही कसैलाई खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले प्रस्ताव गरेको छैन ।
नितेश गुप्ताले दिएको बयानः
पोखरा एभेन्जर्सका एक जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गरेको थिएँ तर, हात्तिवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर प्रस्ताव गर्दा आफूलाई गाली गरेर पठाइदिए।
मेरो सानी आमाको देवर वीरेन्द्र शाहले घरमा आएर उहाँसँग भेट गराइदिनु पर्यो, क्रिकेटको विषयमा कुरा गर्नुपर्छ भन्नु भएको थियो, त्यसअनुसार मैले कहाँ भेट्न सकिन्छ भनेर म्यासेज गरेर सोधेको थिएँ।
त्यसअनुसार शाहसँग वीरगञ्जबाट काठमाडौं आएर ७ पुसमा ललितपुरमा गएर भेट गरे। त्यसक्रममा शाहले लिगमा ‘हिट विकेट’ गरे राम्रो कमाउन सक्ने भनेका थिए।
तर, ती खेलाडीले अस्वीकार गरेपछि आफूले ह्वाट्स एपमा ‘सरी भैया’ भनेर म्यासेज गरे।