काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको छ।
शुक्रबार टियू मैदान कीर्तिपुरमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।
नेपालको जीतमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले सानदार ब्याटिङ गरे। ऐरीले नटआउट ८५ र मल्लले ८१ रन बनाए।
त्यस्तै, सोमपाल कामीले नटआउट २४, गुल्सन झाले १७, कुशल भुर्तेलले १६ रन बनाए।
एक समय ७७–५ को अवस्थमा पुगेको नेपाललाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रले १ सय रनको शतकीय साझेदारी गर्दै जित नजिक पुर्याएका थिए। त्यस्तै, सातौं विकेटका लागि गुलशन झा र दीपेन्द्रले ४३ रनको साझेदारी गरे। दीपेन्द्रले सोमपालसँग आठौं विकेटमा ५५ रनको अविजित साझेदारी गरे।
स्कटल्यान्डका मार्क वाट र क्रिस सोलले समान ३–३ विकेट लिए। माइकल लीस्कले १ विकेट लिए।
सम्बन्धित समाचारः नेपालले बनायो एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २७४ बनाएको थियो। उसका लागि माइकल लीस्कले अविजित १०७, ज्याक जार्विसले २६, क्रिस्टोफर म्याकब्राइड, ब्रान्डन म्याकमुलेनले २२–२२, मार्क वाटले २०, टमस म्याकिन्टोस, कप्तान रिची बेरिंगटनले १९–१९ र क्रिस ग्रीव्सले १६ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १–१ विकेट लिए।
अब नेपालले भोलि शनिबार नामिबियासँग खेल्नेछ। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। त्यस्तै, सिरिजको अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।
पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले र स्कटल्याण्डले नामिबियालाई नै १० विकेटले हराएको थियो।