दाङ। दाङमा ग्यास लिक भएर बिस्फोट हुँदा २ जना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका–१६ को लहचौरास्थित कृषि बीऊ उत्पादन कम्पनीमा बिहीबार बिहान ग्यास लिक भई बिस्फोट हुँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर–१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।
कम्पनीमा बिहानको खाना पकाउने क्रममा ग्यास लिक भएर बिस्फोट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ। केसीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। उनको अवस्था गम्भीर छ भने खनालको अवस्था मध्यम छ।
बुधबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए।
हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ भने भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिँदैछ।