काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिहीबार बिहान कीर्तिपुर अस्पतालमा पुगेर देउवाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
यस्तै, सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
भण्डारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलगायत विभिन्न दलका नेता तथा कार्यकर्ता अस्पताल पुगेर स्वाथ्यलाभ गरिरहेका छन्।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए।
सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको थियो।
भण्डारीकी आमा हरिकलाको भने बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ। अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका भण्डारीकी आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल बनेको थियो।
सांसद भण्डारीको भने उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ।
सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको छ।