काठमाडौं। आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध स्कटल्याण्ड १० विकेटले विजयी भएको छ।
जारी सिरिजमा स्कटल्याण्डको यो पहिलो जित तथा नामिबियाको लगातार दोस्रो हार हो। पहिलो खेलमा नामिबिया नेपालसँग दुई विकेटले पराजित भएको थियो।
त्यस्तै, स्कटल्याण्डले अब आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालको सामना गर्नेछ।
त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको १५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेट पूरा गर्यो।
उसका लागि ओपनिङ ब्याटर जर्ज मुन्सेले १०३ रनको शानदार शतकीय पारी खेले। त्यस्तै, काइल कोट्जरले अविजित ४६ रन बनाए।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सइ ५३ रन बनायो।
उसका लागि ओपनिङ ब्याटर लोहान्ड्रे लुरेन्सले सर्वाधिक ५४, बर्नार्ड स्कोल्ट्जले ३०, जेन हरियोले २५ र पिक्कीया फ्रान्सले १३ रन बनाए।
स्कटल्याण्डका लागि माइकल लीस्कले ४, सफायान सरिफ र मार्क वाटले ३–३ विकेट लिए।
आजको जितसँगै स्कटल्याण्ड आईसीसी विश्वकप लिग–२ को च्याम्पियन बनेको छ। ऊ ४६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदै सात देश सम्मिलित आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बनेको छ।
स्कटल्याण्डले लिग–२ मा अहिलेसम्म ३३ खेल खेल्दा २३ मा जित र मात्र ८ खेलमा हार बेहोरेको छ।
त्यस्तै, आजको हारसँगै नामिबिया ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ। नामिबियाले शीर्ष तीनमा रहनका लागि बाँकी पाँचमध्ये कम्तीमा पनि ३ खेलमा जित निकाल्नु पर्नेछ।