काठमाडौं । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपाल दुई विकेटले विजयी भएको छ । मंगलबार भएको खेलमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालको यो ऐतिहासिक जित हो । यसअघि नेपालले २८६ रनको लक्ष्य पूरा गर्न सकेको थिएन ।
साथै, एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालको यो पहिलो जित पनि हो । यसअघि खेलिएका तीनवटा खेलमा नामिबियासँग नेपाल पराजित भएको थियो । नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारी खेले । ११३ बलको सामना गरेका उनले १० चौका र चार छक्कासहित ११५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो पहिलो शतक हो ।
यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ८४ रन थियो । त्यस्तै, आजकै खेलमा उनी र कप्तान रोहितकुमार पौडेलले एकदिवसीयमा कीर्तिमानी साझेदारी पनि गरे । उनीहरूबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी बन्यो । नेपालको तर्फबाट एकदिवसीयमा यो अहिलेसम्मकै ठूलो साझेदारी हो । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर पनि बनेका छन् ।
नामिबियाविरुद्ध ५५ रन बनाएलगत्तै उनले यो उपलब्धि हासिल गरेका हुन् । रोहितले ३३ खेलमा १ हजार रन पूरा गरे । हालसम्म रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक र ६ अर्धशतकीय पारी खेलेका छन् । उनी नेपालको तर्फबाट एकदिवसीयमा उच्च स्कोर बनाउने ब्याटर पनि हुन् । यो प्रारूपमा रोहितको उच्च स्कोर १ सय २६ रन हो ।
नामिबियाविरुद्ध रोहितले ७६ बलमा सात चौका र तीन छक्काको सहयोगमा ७२ रनको पारी खेले । त्यस्तै, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले अविजित २० रन जोडे । सोमपाल कामी ४ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरी सात, कुशल मल्ल ६, सन्दीप लामिछाने र आसिफ शेख शून्यमा आउट भए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चदै सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए । एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो ।
यसअघि यो प्रारूपमा उनको उच्च स्कोर १ सय २१ रन थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा लिङ्गेनको यो तेस्रो शतक हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए । यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३/१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे ।
बलिङमा तीव्र गतिका बलर करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर सर्वाधिक ५ विकेट लिए । उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले एक/एक विकेट हात पारे ।