काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।
एकदिवसीयमा नामिबियाले नेपाललाई दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । यसअघि उसले ७ डिसेम्बर २०२२ मा नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए ।
एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर १ सय २१ रन थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा लिङ्गेनको यो तेस्रो शतक हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए ।
यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३/१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे ।
बलिङमा तीव्र गतिका बलर करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर सर्वाधिक ५ विकेट लिए । उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् ।
त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर तीन विकेट लिए । उनी ६ महिनापछि मैदान फर्किएका हुन् ।
त्यस्तै, नामिबियाविरुद्ध कुशल मल्ल र सोमपाल कामीले एक/एक विकेट हात पारे ।