विराटनगर। नेपाल खेलकुद महासंघ अन्र्तगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ।
सह–आयोजक मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको प्रतियोगिता शहिद रङ्गशालास्थित कभर्डहलमा फागुन २ देखि ७ गतेसम्म आयोजना हुनेछ।
प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा शिर्ष १६ वरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २५० खेलाडीहरुको सहभागिता रहनेछ।
करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ। जस अन्तरगत शिर्ष १६ बरियता पुरुष र शिर्ष १२ बरियता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ।
यस विधामा खेल्ने खेलाडीहरुले खेलमा सहभागिता जनाउने बित्तिकै नगद १ हजार ५ सय प्राप्त गर्नेछन । यसैगरि लिग चरणमा प्रत्येक जित बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन्।
क्वाटरफाईनल जित्ने खेलाडीले थप ८ हजार प्राप्त गर्नेछन्। सेमिफाईनल जित्ने खेलाडीले थप १६ हजार जित्नेछन् भने फाइनल जित्ने खेलाडीले थप २० हजार र उपविजेताले थप ५ हजार प्राप्त गर्ने छन्।
यस्तै उच्च बरियता बाहेकका महिला र पुरुष एकल, महिला र पुरुष युगल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथिका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१७ छात्र तथा छात्रा एकल तर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।