काठमाडौँ । फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौमा पत्रकार सम्मेलन गरी तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ । फागुन १२ गते नै हुने दोस्रो खेल अन्तर्गत मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् । तेस्रो र चौथो खेलको विजेताबीच फागुन १५ गते खेल हुने छ । यी सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । तर फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुने आयोजक पक्षले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा रजिस्ट्रार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले जनाएको छ । प्रतियोगिताका लागि केपी ओली फुटबल क्लबले खेलाडी र प्रशिक्षकसँग पनि सम्झौता गरिसकेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
केपी ओली कपको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीलाई समान ५० र ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने पनि खेल आयोजक संस्थाले जनाएको छ ।