धनगढी । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन्।
दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गर्यो। प्रतियोगितामा भुवनेश्वरीको यो दोस्रो जित हो।
सैनिकले दिएको ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३.५ ओभरमा विकेट नगुमाई भेटायो। लोकेश जोशीले अविजित २० तथा विशेष नाथले अविजित ६ रन बनाउँदै सहज जित दिलाए।
यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले १२.४ ओभरमा ३३ रनमा सबै विकेट गुमायो। विशाल ऐरले १८ रन बनाउनु बाहेक उसका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनान सकेनन्।
भुवनेश्वरीका बलर खगेन्द्र ठगुन्ना एक्लैले ५ विकेट लिए जुन क्रममा ३।४ ओभरमा २ मेडन ओभर गर्दै ६ रन खर्चिए। उनी प्लेयर अफ द म्याच घोषित भए। यस्तै भारत चन्दले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै ७ रन खर्चिए। कैलाश ऐरले १ विकेट लिए।
दिनको दोस्रो खेलमा लिटल फ्लावर स्कुल धनगढीले वेस्टर्न क्रिस्टल एकेडेमी धनगढीलाई ९ विकेटले पराजित गर्यो। प्रतियोगितामा लिटल फ्लावरको यो लगातार तेस्रो जित हो।
वेस्टर्न क्रिस्टलले दिएको १२८ रनको लक्ष्य लिटल फ्लावरले १२.४ ओभरमा १ विकेट क्षतीमा भेटायो। लिटल फ्लावरका ओपनर सुबोध ऐर र विपिन रावलले ९ ओभरमा ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। सुबोधले मात्र २८ बलमा ८ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। विपिनले अविजित ५७ रन बनाए जुन क्रममा ३५ बलमा ९ चौका र १ छक्का प्रहार गरे। नरेन भट्टले अविजित १५ रन बनाए।
यस अघि टस जितेर ब्याटिङ गरेको वेस्टर्न क्रिस्टलले २० ओभरमा ७ विकेट क्षतीमा १२७ रन बनायो। उसको लागि ओपनर डबल ऐरले सर्वाधिक ४६ रन तथा नीरज ऐरले अविजित २० रन बनाए।
लिटल फ्लावरका बलर सचिन भट्टले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। सुबोध ऐरले २ तथा रोशन रावल र आशिष् सानुले १र१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच विपिन रावल घोषित भए। प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जस अन्तर्गत बिहान ९ बजे सत्यवती एकेडेमी र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा होली फेमिली र गुराँस एकेडेमी प्रतिस्पर्धा गर्नेछन्।