धनगढी। कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा लोटस आई र होली हेमिली विजयी भएका छन्। धनगढीको फाप्ला क्रिकेट मैदानमा बुधबार भएको १९ वर्ष मुनीको प्रतियोगितामा दुई विद्यालय विजयी भएका हुन्।
राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को पाँचौ दिन लोटस आई अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित ग¥यो। लिटल आईले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८ दशमलव १ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।
लोटस आईको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित साउँदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए। सन्तोष बिजलीले २ तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १/१ विकेट लिए।यस अघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनायो। लोटस आईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लक्की कडायत र नरेन साउँदले समान २६ प्रदीप चन्दले २२ रन बनाए।
पाँचौँ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे। शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउँदले १/१ विकेट लिए।बुधवारको दोस्रो खेलमा होली फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित ग¥यो। नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होली फेमिलीले ७ विकेट गुमाएर १८ दशमलव ३ ओभरमा भेटायो।
होली फेमिलीको ब्याटिङमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने वीरेन बम र अरुण रानाले समान २३/२३ रन बनाए। १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिए। तर पनि जितको लागि पर्याप्त रहेन।
यस अघि टस जितेर ब्याटिङ गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए। यस्तै विराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए। होली फेमिलीका बलर प्रेम ठकुराठीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।