काठमाडौं। नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
मंगलबार भारतलाई ३–१ गोलले हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको हो।
नेपालको जितमा कप्तान प्रिती राई, अञ्जली चन्द र अमिषा कार्कीले गोल गरिन्।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो।
खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर, खेलको दोस्रो हाफको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याइन्। खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्।
त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाइन्।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ।
च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेश पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो।
अब नेपालले फाइनलमा बंगलादेशलाई पाउने सम्भावना बलियो छ। यदि भुटानसँग बंगलादेश पराजित भएको खण्डमा चाहिँ फाइनलमा भारतले यात्रा गर्न सक्छ।