काठमाडौँ । चार राष्ट्र सम्मिलित साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा शीर्ष दुई स्थान रक्षा गर्ने फाइनलमा पुग्नेछन् । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशबीच दुई राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको चौथो टोली भुटान बाहिरिइसकेको छ ।
नेपाल अन्तिम दुई स्थानमा प्रवेश गर्ने लक्ष्यका साथ मंगलबार बलियो भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र भारतबीचको खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ ।
राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा समान एक जित र हार निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम खेलमा उपाधि दाबेदार भारतलाई हराउँदा फाइनल स्थान सुरक्षित गर्नेछ । हार वा पराजयले नेपालको फाइनल खेल्ने सपना समाप्त हुनेछ । साथै, महिला यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने धोको यसपटक पनि अपूरो हुनेछ । यस कारण नेपालमाथि जित्नैपर्ने दबाब छ । नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले भारतविरुद्ध दबाबमा नहुने प्रतिक्रिया दिएका छन् ।
दक्षिण एसियाकै कडा प्रतिद्वन्द्वी भारतविरुद्ध सम्हालिएर खेल्ने प्रशिक्षक गुरुङले बताए ।सहभागी चारै टोलीमध्ये भारतले दुई खेलबाट चार अंक बटुलेको छ । बंगलादेशले पनि चारै अंक बटुलेको छ । गोलअन्तरमा बंगलादेश दोस्रो स्थानमा छ । नेपाल तीन अंकका साथ तेस्रो स्थानमा छ ।