कामठाडौँ । पर्खाल फोडेर भागेका मध्ये एक थुनुवा पक्राउ परेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर हिजो बिहान ६ जना थुनुवा फरार भएका थिए। हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजी तीव्र पारेको छ।
सर्च टोलीले मिथिला नगरपालिका–६ का २८ वर्षीय रोशन महतोलाई हिजो बेलुकी पुनः पक्राउ गरेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।
उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।
हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।
सम्बन्धीत समाचार : पर्खाल तोडेर ६ जना थुनुवा फरार