पोखरा। टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरा रंगशालामा भइरहेको ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ मा दुबै टिमले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
शुक्रबार सेमिफाइनलमा भारतीय खेलाडी सम्मिलित गण्डकी विभागीय टोली नेपाल आर्मीलाई ३–० को सेटमा हराउँदै फाइनल पुगेको हो।
प्रतियोगितामा अविजित रहेको एपीएफ नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो।
यस्तै, महिलातर्फ उपाधिका लागि एपीएफ र नेपाल आर्मी भिड्नेछन्।
महिलातर्फ फाइनल खेल शनिबार बिहान ११ बजे र पुरुषतर्फ दिउँसो २ बजे हुनेछ।
महिला–पुरुष दुबैतर्फ उपाधि विजेता टिमहरुलाई रु ५–५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ।