पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई बिचको खेल पोखरा रङ्गशालामा शुक्रवार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो । भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे ।
उनले खेलको ३८औँ, ५५औँ र ५९औँ मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औँ मिनेट र १८औँ मिनेटमा गोल गरेका थिए ।
कालिकाले दोस्रो सेमिफाइनलमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कालिकाको जितमा तेजबहादुर गुरुङले गोल गरे । खेलको ३१औँ मिनेटमा तेजले गरेको गोल नै खेलको निर्णायक भयो ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । फाइनल खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ ।