काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएका छन् । ‘एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने तर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारवाही हुन्छ’ उनले भने ।
पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार यहाँ गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भएमा अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् ।’
गत निर्वाचनमा एकीकृत समाजवादीका केही नेताले र कार्यकर्ताले फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको उनले बताए । कतिपयले प्रत्यक्षमा ‘कलम’ चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालले बताए ।
कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरु पनि भोट हाल्न पुगेका थिएनन् । त्यस्ता नेता र कार्यकर्ताको लगत संकलन एकीकृत समाजवादीले गरिरहेको छ उनले भने ।
पार्टी कार्यालय आलोकनगरमा सम्पर्क मञ्चका नेता कार्यकर्तालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी देशको मुख्य राजनीतिक शक्ति भएको बताए । अब पार्टीलाई क्रान्तिकारी भावनाका साथ अघि बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने बताए । एकीकृत समाजवादीलाई समाजको आशावादी पार्टी बनाउन आफुहरु लागेको उनले बताए ।
अध्यक्ष नेपालले पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिए । सपना र लक्ष्यका विषयमा एउटा परिभाषा पनि सुनाए । ‘सपनाको लागि प्रयासरहित निन्द्रा चाहिन्छ, तर लक्ष्यका लागि निन्द्रारहित प्रयत्नको आवश्यकता पर्दछ’ उनले भने ।