काठमाडौं । सोनाम ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उप राष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् ।
छुट्टाछुट्टै शुभकामना जारी गर्दै उनिहरुले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी हुन् ।
राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
यस्तै उपराष्ट्रपति पुनले पर्वहरूले नेपालको सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लगेको बताएका छन्।तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गरेकी हुन्।
“हिमाल, पहाड, तराई–मधेसको भौगोलिक विविधता र यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू नेपालको गौरव हुन्”, उपराष्ट्रपति पुनले आफ्नो सन्देशमा भनेका छन्, “मान्यजनबाट टीका थाप्ने, आशीर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने तथा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा पनि लिइने सोनाम ल्होछारले सम्पूर्ण नेपालीहरूका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु।”
काठमाडौँ उपत्यका आसपासमा आदिमकालदेखि बसोबास गर्दै आएका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेषभूषासहितको पहिचान भएको बताउँदै उनले तामाङ सेलो गीत, टुङ्गुना र डम्फुको सङ्गीत आज नेपालका सम्पूर्ण जातजातिको लोकभाकाको अभिन्न अङ्ग बनेको उल्लेख गरेका छन्।
यता प्रधानमन्त्री प्रचण्डले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन्।तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताएका हुन्।
“सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो”, उनले भनेका छन्।
नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ। ‘‘यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु”, उनले भनेका छन्।
प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने उल्लेख गरेका छन्।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भएर मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । यसैबिच सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।