काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन् । विपक्ष दलका सांसदहरुले समेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने उनले बताएकी छन् ।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन् ।
नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाई थियो । उपसभामुख रानामगरले भनिन्, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु ।'
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने समेत बताइन् ।