पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलहरूमा नमस्ते अभियान सुरु गरेको छ । माघ १ गते देखि पोखराका विभिन्न सार्वजनिक स्थलहरूमा खुला धूम्रपान तथा सुर्तीजन्य पदार्थमा रोक लगाएसँगै प्रथम चरणको कारबाही स्वरूप नमस्ते अभियान चलाएको हो ।
अब पोखराका सार्वजनिक स्थलहरूमा कसैले धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेको भेटिएमा ती सेवनकर्ताहरूलाई नमस्कार गरिने छ ।
आज (शनिवार) पोखराको वेगनाशतालमा लेखनाथ प्रहरी सेवा केन्द्रले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्न सचेतना जगाउँदै निकालेको प्रभात फेरी कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ अनिल कुमार शाहीले प्रयोगकर्ताहरूले वर्षौँदेखि सेवन गर्न थालेको अम्मल एकै पटकमा त्याग्न नसके पनि बिस्तारै कम गर्न सकोस् भन्नाका लागि पहिलो चरणमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई नमस्कार अभियान मार्फत नमस्कार गरेर चेतावनी दिइने बताए । साथै उनले ससम्मान अनुरोध गर्दा पनि अटेरी गरे दोस्रो चरणमा कानुनी कारबाही गर्ने बताए।
प्रहरी सेवा केन्द्रले पोखरा तालचोक देखि बेगनास ताल सम्म प्रभात फेरी कार्यक्रम गरेको थियो । कार्यक्रममा केहिदिन अघि मात्र सरुवा भएर आउनु भएका गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धि गुरुङले जनता आफै विना वर्दीका प्रहरी रहेको भन्दै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न र गर्न नदिन आग्रह गरे ।
साथै उनले सार्वजनिक स्थलमा धूम्रपान गर्दा प्रयोग कर्ता भन्दा नजिक रहेका आफन्तहरूलाई अझ बढी हानी र पिडा हुने भन्दै यस्ता जोखिम युक्त अम्बलहरू त्याग्नु पर्ने बताए ।
लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका अध्यक्ष कृष्ण अधिकारीले संस्थाले विभिन्न ठाउँमा हुने हिट एण्ड रनका घटना अनुसन्धानमा सहजीकरण गर्न लेखनाथ क्षेत्रका विभिन्न ठाउँमा सिसिक्यामारा जडान देखि युवाहरूलाई लागुऔषधवाट बचाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको बताए ।