काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् ।
अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताए । त्यसका लागि राष्ट्रिय पुँजी सङ्कलनको खाँचो यहाँले औँल्याए । देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा उनको थियो ।
अध्यक्ष नेपालले स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढदो वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।