धरान । धरान २० मा खोल्न लागेको माया धराने ब्राण्डको साबुन उद्योगमाथि उच्च अदालत विराटनगरले जारी गरेको अन्तरिम आदेश फुकुवाको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु भएको छ।
सचेत धराने समुह नामको संस्थाले भानुचोकमा हस्ताक्षर संकलन अभियान थालेको हो। शुक्रबारदेखि शुरु भएको संकलन अभियान आइतबार सम्म जारी रहने समुहका प्रवक्ता राम लिम्बुले जानकारी दिए। उनका अनुसार हस्ताक्षर संकलन गरिसके पछि धरान १३ मा रहेको प्रादेशिक वन निर्देशनालयमा बुझाइनेछ।
मेयर हर्क साम्पाङले धरानमा पनि उत्पादन शुरु गर्ने र स्थानीयस्तरमा नै रोजगारीको अवसर सृर्जना गर्ने भन्दै साबुन उद्योगको अवधारणा अघि सारेका थिए। कार्यपालिका बैठकबाट धरान २० सुर्द खोला किनारको जग्गामा औद्योगिक ग्राम बनाउन प्रक्रिया थाल्ने पनि निर्णय गरेको थियो।
साबुन उद्योगको लागि छनौट गरिएको जग्गामा वन समुहले मनमोहन स्मृति चिल्ड्रेन पार्क बनाउने कार्ययोजना बनाएको र वनको जग्गा भएको भन्दै वन भिडिजन कार्यालयले भोगाधिकार लिनुपर्ने पत्राचार गरेपछि विवाद खडा भएको थियो।
गिट्टी कुट्ने श्रमदान भइरहेको बेला डिभिजन वनले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेर स्टे अर्डर जारी भएपछि अहिले साबुन उद्योगको काम अघि बढ्न सकेको छैन। वन कार्यालय र स्थानीय सरकार बीच सम्बन्ध तिक्ततापुर्ण बनेको छ।