पोखरा । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।
जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाई शुक्रवार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले शुक्रवार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । त्यस लगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो ।