काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक गरेको हो।
लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन्। यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन्। खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्।
ए डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो हुनेले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख बनाइएको छ। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।