काठमाडौं। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
शुक्रबार अपराह्न नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेर सांसद यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराइन्।
उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी छन्।
उनी नेपाली कांग्रेसले १४ औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएकी थिइन्।
२०७० मा संविधानसभामा सदस्य रहेकी मुक्ता २०७४ मा दुई वर्षका लागि राष्ट्रियसभा सदस्य थिइन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।