काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
उनले शुक्रबार दिउँसो उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन्।
रास्वपाका सोविता गौतम प्रस्तावक र समर्थकमा कृष्णगोपाल श्रेष्ठ नेकप (एमाले), नारायणी शर्मा (माओवादी केन्द्र) र राजेन्द्रप्रसाद लिङ्देन (राप्रपा) रहेका छन्। रानालाई सत्ता साझेदार दलहरूको समर्थन छ।
शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत रहेकी झापाकी राना मगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।
बालअधिकार, समाजसेवा, बा–आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएकी उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।
संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ। मतदान शनिबार हुनेछ।
नेपाली कांग्रेसले भने उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।