काठमाडौं। मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुगेको छ ।
काठमाडौंमा अवतरण गर्न नसकेर नेपाल एयरलाइन्सको आरए–४१६ विमानले कोलकातामा अवतरण गरेको हो। काठमाडौंको आकाशमा फन्को मारे पनि उक्त विमान खराब मौसमका कारण अवतरण हुन सकेन।
शुक्रबार बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम रहेको कारण अवतरणमा समस्या भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको बताए।
शुक्रबार विमानस्थलको भिजिविलिटी १६ सय मिटर थियो। तर, कोलकाता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ।
त्यस्तै, त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज झापाको भद्रपुर पुगेको छ।
त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ।
भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै गएको छ।