काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार सांसद इन्दिरा राना मगरलाई बनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि उपसभामुखको उम्मेदवार काठमाडौं–१ बाट निर्वाचित सांसद सोबिता गौतम बन्ने चर्चा थियो।
बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत रहेकी झापाकी राना मगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।
बालअधिकार, समाजसेवा, बा–आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएकी उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।
सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ।
संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ। बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
सम्बन्धित समाचारः उपसभामुखका लागि आज उम्मेदावरी दर्ता हुँदै