विराटनगर । १८ दिने शिशुलाई जीवित अवस्थामै मृत घोषणा गर्ने स्वास्थ्यकर्मीलाई कोसी अस्पताल प्रशासनले सात दिन निलम्बन गरेको छ। उनीहरूले अस्पतालको आकस्मिक कक्षमा बुधबार उपचारका लागि ल्याइएकी मोरङको जहदा–३ भाथीगछकी शिशुलाई मृत घोषणा गरेका थिए।
निलम्बन हुनेमा पारामेडिकल अफिसर टीका अधिकारी, लक्ष्मण माझी र चिकित्सक आकाश यादव छन्। उनीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। लक्ष्मीनारायण यादवले बताए।
उनले निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूलाई आगामी ७ दिनसम्म अस्पतालबाट सेवा प्रवाह गर्न रोक लगाइएको जानकारी दिए। निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिनका लागि अस्पतालले बिहीबार छानबिन समितिसमेत गठन गरेको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा ३ सदस्य छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा.सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य छन्। समितिले घटनाको छानबिन गरी अन्तिम प्रतिवेदन नबुझाएसम्म स्वास्थ्यकर्मीहरूको निलम्बन फुकुवा नगरिने अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले बताए।
बुधबार बिहान करिब ९ बजे मोरङको जहदा–३ की १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। पिता दिलीप मुखिया र आमा उमा मुखियाले शिशुलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए। डाक्टर आकाश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार सुरु गरेका थिए। तर, सही उपचार नै नगरी डा. यादवले जिवित शिशुलाई मृत घोषणा गरिदिएका थिए।